२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

संसदीय दलको विधान संशोधन गर्न रास्वपाले बनायो कार्यदल

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सात दिनको समयसीमा दिएर कार्यदल गठन गरिएको बताए ।

कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबोध र कानुन निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त तथा जनपक्षीय बनाउने विश्वास गरिएको पराजुलीले बताए ।

पार्टी सभापतिसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे पनि विस्तृत छलफल भएको थियो ।

बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका प्रगति तथा गतिविधिको विवरण प्रस्तुत गरेका थिए । सांसदहरूले भने आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा जनस्तरबाट आएका गुनासाबारे जानकारी गराएका थिए ।

सरकारले गरेका कामलाई आम जनतासम्म पुर्‍याउन देखिएका समस्या तथा सञ्चार समन्वयमा भएका कमजोरीबारे पनि बैठकमा समीक्षा गरिएको थियो ।

उपनेता पराजुलीका अनुसार बजारमा ग्यास आपूर्तिको अवस्था र जनस्तरमा देखिएको अभावबारे समेत बैठकमा छलफल भएको थियो ।

‘गत वैशाखमा २२ लाख सिलिन्डर बजारमा पुगेकोमा साउन महिनामा ४० लाख पुग्दा पनि किन अभाव देखियो भन्ने विषयमा माननीय मन्त्रीज्यूहरूले जानकारी गराइरहनुभएको छ,’ उनले भने ।

सदन र सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले संसदीय दलको बैठक बसेको रास्वपाले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।