तराईमा सुरक्षा ब्यवस्था चुस्त छ :निर्वाचन आयोग

0
167

मंसिर १६,वीरगञ्ज । निर्वाचन आयोगले प्रदेश नं २ को सुरक्षा सरकार र सुरक्षा संयन्त्रको नियन्त्रणमै रहेको दावी गरेको छ । प्रदेश नं २ मा भईरहेको निर्वाचनको तयारी बुझ्न आएका निर्वाचन आयुक्त ईला शर्मा र सुधिरकुमार शाहले सुरक्षा व्यवस्था चुस्त रहेको बताएका हुन् ।

पर्सा जिल्लामा भईरहेको सुरक्षाको तयारी र सुरक्षाका लागि भइरहेकेा तयारीका बारेमा सरोकारवालासँग विस्तृत जानकारी लिईसकेपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ढुक्क भएर मतदान गर्न आग्रह गरे । तेस्रो चरणमा प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचन नमुना बनेको बताउँदै उनीहरुले मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधि सभा सदस्यको निर्वाचन पनि त्यस्तै हुने विश्वास व्यक्त गरे । निर्वाचन आयुक्त ईला शर्माले सरकार र सुरक्षा संयन्त्र सुरक्षाका सवालमा आउन सक्ने हर किसिम अवरोधको सामना गर्न तयारी अवस्थामा रहेको बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा सफलता पूर्वक सम्पन्न भयो, त्यसैगरी प्रदेश र प्रतिनीधि सभा निर्वाचन पनि सम्पन्न हुने छ । भन्नेमा हामी विश्वस्त छौं,’ शर्माले अगाडि भनिन् ‘निर्वाचन विरोधी, संविधान विरोधी गतिविधि कुनै पक्षले गर्न सक्छन् । सरोकारवालासँग छलफल गर्दा सरकार र सुरक्षा संयन्त्र हरि किसिमको अवस्थाका लागि तयार छ, स्थिति नियन्त्रणमा छ भन्ने महशुस भएको छ ।’

मतदान सबै नागरिकको सार्वभौम अधिकार भएकोले त्यसबाट कसैलाई वञ्चित गर्न नमिल्ने उनको भनाई छ । ठाउँ ठाउँमा मधेस आन्दोलनका भिडियो र विभत्स फोटोहरु प्रयोग गरेर भोट मागेको तर्फ ईंगित गर्दै उनले मधेस आन्दोलनका सहिदको सम्मान गर्न आग्रह गरिन् ।

‘मधेस आन्दोलनका सहिदको उच्च स्थान छ, सम्झना छ, जुन त्यसको गौरब छ, त्यसको अवहेलना र दुरुपयोग गर्ने हिसाबले प्रचार गरिनु हुँदैन, यो हृदयमा राख्ने सम्झना हो क्यास गने होईन,’ आयुक्त शर्माले भनिन्, ‘साम्प्रदायिक सदभाव भड्काउन खोज्ने काम गरेर निर्वाचन विथोल्न खोज्दा मतदाताको सार्वभौम अधिकारको हनन हुन्छ । त्यसतर्फ सबै सचेत र सजग हुनुपर्छ ।’

उनले निर्वाचनमा खटिएका कर्मचारीहरुको आचरण र व्यवहार पनि निष्पक्ष हुनुपर्ने र व्यवहारबाटै त्यो कुराको महशुस हुनुपर्ने बताइन् ।