बिराटनगर ,२८ भदौ, (मोरङ)। नयाँ संविधानमा अंगीकृत वैवाहिक नागरिकता सम्बन्धी व्यवस्था लागू भएपछि मोरङ जिल्लामा २ सय २६ महिलाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगीकृत नागरिकता दिने व्यवस्था छ । जसमा मोरङ अंगिकृत नागरिता लिने सवै भारतीय मूलका महिला नेपालीसँग विवाह गरेका आएका छन् । नेपालीसँग विवाह गरेर नेपालमै बसिरहेका भारतीय महिलाहरुले विवाह दर्ताका आधारमा अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार वस्नेतले जानकारी दिए । गएको ३ असोजमा नयाँ संविधान जारी भएलगत्तै सरकारले तराई क्षेत्रमा वैवाहिक अंगीकृत नागरिकता दिने क्रम रोकेको भन्दै मधेसी दलहरुले भ्रम फैलाएका थिए । नयाँ संविधानमा वैवाहिक अंगीकृत दिने व्यवस्था यथावत् रहेको र सोही प्रावधानबाट नागरिकता दिइरहेको वस्नेतको भनाई छ । उनले संविधान जारी भएपछि वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या वढेको बताए । वैवाहिक अंगीकृत नागरिकता दिने र लिने क्रम पहिलेको भन्दा बढेको छ’ सहायक प्रजिय वस्नेतले भने । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार सवै कानुनी प्रक्रिया पुगेको अवस्थामा र कागजात भएको अवस्थामा एकै दिनमा वैवाहिक नागरिकता वितरण गर्ने गरिएको छ । श्रीमानको नागरिकता, विवाह दर्ताको प्रमाणपत्र र सम्वन्धित नगरपालिका वा गाविसको सिफारिस भए तत्काल नागरिकता पाउने गरेका छन् । ११ महिनाको यो अवधिमा कार्तिक महिनामा सवै भन्दा वढी ४० महिलालो अंगिकृत नागरिता पाएका छन । तराईका विभिन्न २० जिल्लामा ११ महिनालको अवधिमा सवै भन्दा वढि रुपन्देहीवाट ८ सय ४६ जनाले अंगीकृत नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ ।