गगन थापाले भने ठूला नेता अख्तिीयार प्रमुख संग डराए !

0
779

चितवन, ६ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तहरुका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता नै गलत भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभयो ।

उहाँहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने भन्नुहुँदै उहाँले आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको बताउनुभयो । आफू अहिले जिम्मेवार मन्त्री पदमा रहेको भन्दै उहाँले यस विषयमा अन्य सांसदले विषय उठान गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै उहाँले यसको छानबिन गर्नुपर्ने बताउनुभयो । छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै उहाँले यस विषयलाई सर्वोच्च अदालतमा समेत छलफलको विषय बनेको बताउनुभयो । मन्त्री थापाले सर्वोच्चले समेत सरकारलाई दिएको निर्देशन पालना गर्नुपर्ने बताउनुभयो ।