भैरहवा,७ असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा हुने लुटपाट, ठगी र दुर्व्यहार जस्ता घटना घट्ना रोक्ने प्रतिबद्धता भारतीय प्रहरीले जनाएको छ ।बर्षेनी सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुले मिलेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् । चाडपर्वको बेला भारतबाट नेपाल आउने नेपाली नागरिकहरु भारतीय सिमावर्ती क्षेत्रमा लुटिने र ठगिने गरेका छन् । दशैं नजिकिँदै गर्दा त्यस्ता क्रियाकलाप रोक्ने उद्देश्यले रुपन्देही प्रहरीले भैरहवाको सिमाना बेलहियामा भारतीय प्रहरी अधिकारीहरुलाई समेत राखेर बैठक आयोजना गरेको थियो । बैठकमा नेपालंं.भारत मैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले भारतबाट दशै मनाउनका आफ्नो देश आउने क्रममा रिक्सा चालकहरुले चर्को भाडा लिने, भारतीय प्रहरी र भारतीय भन्सारले रकम असुल्ने जस्ता घटना यसपटक हुन नदिन बैठकमा आग्रह गरेका थिए । कार्यक्रममा भारतीय सिमावर्ती सुनौली चौकी प्रमुख प्रहरी नायव निरीक्षक राजप्रकाश सिंहले विगतमा भारतीय प्रहरीले अनावश्यक रुपमा अतिरिक्त रकम लिने जस्ता घटनाहरु भएकामा यसपटक हुन नदिने प्रतिवद्धता जनाए ।