काँस्की, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य लेखकले प्रमुख तीन दलको सम्पन्न बैठकले जिविस अन्तर्गतका इलाकालाई मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमति भएपछि अब स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढ्ने धारणा राख्नुभयो । नयाँ संविधानमा मधेसी जनताको असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस तयार रहेको जानकारी गराउँदै उहाँले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने दलको कार्यसूची नै रहेको बताउनुभयो ।