
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ ।
यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।
आज देशभर सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुखसमृद्धिको कामनासहित छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दैछन् ।
विशेषगरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने पर्व सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।
पर्वको पहिलो दिन ‘नहाय–खाय’ मा व्रतालुले स्नान गरी घरआँगन सफा गर्ने र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ मा दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरिन्छ ।
आज षष्ठीका दिन व्रतालुहरू नदी, खोला, पोखरी तथा जलाशयका किनारमा निर्माण गरिएका घाटमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । ‘सन्ध्या अघ्र्य’ भनिने यस विधिमा सूर्यदेवको पूजा आराधना गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । रातभर घाटमा भजनकीर्तन तथा पूजाआराधना गर्ने परम्परा पनि छ ।
पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई ‘उषा अघ्र्य’ अर्पण गरिन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण तथा वितरण गरी चारदिने व्रत समापन गर्छन् ।
भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ ।
पीआईबीका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ ।
नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि मानिने जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।
यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ । धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन् । नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पु¥याउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।




