राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारमा करछली प्रकरण तत्काल छानबिन गर्न सरकारलाई दबाब दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै भने गाडीहरूमा कर छली गर्ने काम अर्थमन्त्री स्वयमले गरेको जिकिर गर्दै तत्काल संसदीय छानबिन समिति बनाएर त्यसको छानबिन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका हुन् ।
नेता शाहीले उक्त प्रकरणमा अर्थमन्त्री वाग्ले संसदीय समितिमा समेत झुट बोलेको आरोप समेत लगाए । नेता शाहीले गाडी नभित्राउँदै त्यसको जाँच पास कुरा कसरी भयो रु भनी सरकारलाई प्रश्न समेत गरे । उनले गत वर्ष पनि केही गाडीहरूमा भन्सार छुट दिएको कुरा छानबिन गरी राजस्व असुली गर्न महालेखा परीक्षकको प्रतिवेदनले सरकारलाई निर्देशन दिएको पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
नेता शाहीले सरकारले सुशासनको कुरा गरेपनि वास्तविक रूपमा त्यसको पक्षमा काम नगरेको आरोप पनि लगाए ।








