२०८३ श्रावण १ गते शुक्रबार
२०८३ श्रावण १ गते शुक्रबार

बीमाको लोभमा आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा चोरी भएको नाटक रचेको आरोपमा बुटवलका एक व्यवसायी र उनका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिकलाई योजनाबद्ध रूपमा झुटो चोरीको घटना सिर्जना गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो ।

गत जेठ १७ गते सञ्चालक बिकले आफ्नो पसलबाट १ करोड ४६ लाख १४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनले आफू घटना हुँदा पोखरामा रहेको र पसलको सिसिटिभी प्रणालीसमेत बिग्रिएको दाबी गरेका थिए ।

तर घटनाको सूक्ष्म अनुसन्धानका क्रममा प्रहरीले चोरीको कथामा अनेक शंकास्पद पक्ष फेला पारेको बताएको छ । अनुसन्धानबाट वास्तविक चोरी नभई बीमा रकम दाबी गर्ने र पसलमा रहेको सुनचाँदी तथा नगदको हिसाब–किताबबाट बच्न योजनाबद्ध रूपमा चोरीको दृश्य तयार पारिएको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रहरी स्रोतका अनुसार रातको समयमा च्यानल गेटको ताला खोलेर बाहिरबाट चोरी भएको जस्तो देखाउने प्रयास गरिएको थियो । लकरमा विभिन्न चाबी प्रयोग गरी जबर्जस्ती खोल्न खोजिएको जस्तो दृश्यसमेत बनाइएको अनुसन्धानमा खुलेको छ ।

करिब चार दशकदेखि सञ्चालनमा रहेको उक्त पसलमा भएको भनिएको चोरी अन्ततः ‘भित्री योजनाको खेल’ भएको प्रहरीको दाबी छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवै जनाविरुद्ध आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।