२०८३ आश्विन ४ गते आईतवार
२०८३ आश्विन ४ गते आईतवार

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

बढ्दो जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्रभावलाई मध्यनजर गर्दै मन्त्रालयले वर्तमान आवश्यकता अनुसार नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो।

मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनामा उक्त शाखा रहने व्यवस्था गरिएको छ। शाखाको नेतृत्व उपसचिवले गर्नेछन्।

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएको छ। ती प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउने उद्देश्यले वातावरण कूटनीति शाखा स्थापना गरिएको हो।

नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ। जलवायु परिवर्तनका प्रभाव तथा विपद्सँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहल अघि बढाउने जिम्मेवारीसमेत शाखाले सम्हाल्नेछ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिका बारेमा लगातार रूपमा काम गर्दै आएको छ। अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन (कोप) देखि कोपसम्म वा अन्य कार्यक्रममा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीति अघि बढाएर पुग्दैन।’

उनले जलवायु कूटनीतिलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने बताए। मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर हालका लागि मन्त्रालयमा वातावरण कूटनीति शाखा खडा गरिएको उनले बताए।

मन्त्री खनालले हालका लागि शाखामार्फत काम अघि बढाइने र भविष्यमा आवश्यकता तथा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ गर्न सकिने बताए। उनले जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहल अघि बढाउँदै लैजानुपर्नेमा जोड दिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।