प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पत्रकार पक्राउ परेको विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

सरकारले गत शुक्रबार विभिन्न मिडिया हाउसमा प्रवेश गरेर केही पत्रकारलाई पक्राउ गरेको थियो भने केही सञ्चारमाध्यममा धरपकड गरेको थियो । चौतर्फी आलोचना भएपछि केही घण्टामै पक्राउ परेका पत्रकार रिहा भएका थिए ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह, उनको सचिवालय तथा गृहमन्त्री सुधन गुरुङको आलोचना भइरहेको छ ।
यसैबीच, सञ्चारमाध्यममा २८ जना पत्रकारलाई पक्राउ गर्न प्रधानमन्त्री कार्यालयले सूची तयार पारेको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनकै निर्देशन तथा योजनामा पत्रकार पक्राउ परेको बताइन्छ ।
आफूमाथि पत्रकार पक्राउको आरोप लागेपछि बेनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ट्याग गर्दै २८ जनाको सूचीमा नपरेकालाई पत्रकार भन्नु कि नभन्नु भन्ने आशयको टिप्पणी गरेका छन् ।
‘यो २८ जना पत्रकारमा को को पर्या हो । २८ मा नपर्ने नि के पत्रकार भन्नू हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन् ।











