न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

हालै चर्चामा आएको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङका माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे ।

आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायका अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेको छ । न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउन अविलम्ब स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको जोड छ ।
आम नागरिकले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म अभियान जारी राख्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।











