२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै आयोगले यसबारे अध्ययन तथा छलफल गर्ने बताए ।

उनले भने, ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था, अभ्यास सबै हेरेर यहाँ विषयहरू उठान गर्नुभएको छ । हामी पनि हेर्छौं, बुझ्छौं, पढ्छौं । मुख्य कुरा विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भनी अगाडि जाने कुरा हुन्छ । हामीलाई बल्ल विषयको बारेमा जानकारी भएको छ । हामी आउने दिनमा छलफल गर्नेछौं । तपाईंसँग फेरि छलफल गर्नुपरे फेरि बोलाउँछौं ।’

गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे ।

उनले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको भन्दै त्यसमा संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए ।

उनले भने, ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार एउटा मूल मर्म र मान्यता बोकेर हामीसँग थुप्रै अभियानका साथी पनि हुनुहुन्छ । देशमा छिट्टै स्थानीय निर्वाचन हुँदैछ । स्थानीय चुनाव गैरदलीय र स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ अधिकांश नेपाली जनताको माग छ, स्थानीय तह स्वतन्त्र हुनुपर्दछ भन्ने छ । स्थानीय तह गैरदलीय स्वतन्त्र गर्नका लागि नेपालको संविधान स्पष्ट छ । संविधानले दलीय आधारमा स्थानीय तहको चुनावको परिकल्पना गरेको छैन । केही ऐन, कानुनको व्यवस्था गरी नेपालमा यो निर्वाचनको व्यवस्था गरियो । यसलाई संशोधन पनि गर्न मिल्छ । त्यसकारण संशोधन गरेर अब गैरदलीय स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने मर्मका साथ हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउन चाहन्छौं ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।