पुस ३ काठमाण्डौं बिबिसी । टर्कीका राष्ट्रपति रेजेप तय्यप एर्दोआनले १३ जनाको ज्यान लिएको र थुप्रैलाई घाईते बनाएको आक्रमणको दोष कुर्द लडाकुहरुलाई लगाएका छन्।
त्यहाँ कार बम विस्फोट गरिएको आशंका गरिएको छ।
सर्वसाधारण पनि घाईते भएको हुनसक्ने सेनाका एकजना प्रवक्ताले बताएका छन्।
केन्द्रिय टर्की स्थित काइसरी नगरको एउटा विश्वविद्यालय नजिकै कारबम प्रयोग त्यो बसमाथि आक्रमण गरिएको आशंका गरिएको छ।
क्षेत्रीय गभर्नर सुलेइमान काम्जीले त्यो बसको छेउमा पार्क गरिएको कार प्रयोग गरेर आक्रमण गरिएको बताएका छन्।
आक्रमणले स्थानीय बजार गएका सैनिकहरु चढेको एउटा बसलाई ध्वस्त बनाएको छ।
घटनास्थलका तस्वीमा जलेको र क्षतिग्रस्त भएको त्यो बसको एकापट्टि ठुलो प्वाल परेको देखिन्छ।
थुप्रैजना घाईते भएको स्थानीय अस्पतालले पुष्टि गरेका छन्।
इस्तानबुलमा दुईवटा बम आक्रमणमा परेर ४४ जना मारिएको २ हप्तापछि त्यस्तो आक्रमण भएको हो।
इस्तानबुलको आक्रमणको जिम्मा कुर्द लडाकुले लिएका थिए।
विगतमा उनीहरुले सैनिक र प्रहरीलाई निशाना बनाएको हुनाले आजको आक्रमण पनि उनीहरुले गरेको शंका गरिनेछ।
इस्लामिक स्टेट भनिने समूहले पनि त्यहाँ बारम्बार आक्रमण गरेको छ तर उसले धेरैजसो इस्तानबुल र अंकाराका सार्वजनिक स्थलहरुलाई निशाना बनाएको छ।
उपप्रधानमन्त्री नुमन कुर्तुल्मुले काइसरीको आक्रमणमा प्रयोग गरिएका सामग्री इस्तानबुलमा प्रयोग गरिएका सामग्रीसंग मिल्दोजुल्दो भएको बताउँदै सबै संकेतहरुले त्यो आक्रमण कुर्द लडाकु समूह पीकेकेले गरेको ईंगित गर्ने बताएका छन्।
राष्ट्रपति रेजेप तय्यप एर्दोआनले कुर्द लडाकुले टर्कीको शक्ति घटाएर उसको उर्जा र बल अन्यत्रै केन्द्रित गर्न खोजेको बताए।
विस्फोट भएलगत्तै सरकारले केही समयका लागि त्यसका बारेमा खबर प्रकाशित गर्न निषेध गरेको थियो।
प्रधानमन्त्रीको कार्यालयले सञ्चार माध्यमहरुलाई जनतामा डर, अत्यास वा अशान्ति फैलाउने किसिमका र आतंकवादी संगठनका उद्देश्यलाई सघाउन सक्ने किसिमका खबरहरु प्रकाशित नगर्न आह्वान गरेको थियो।
सन् २०१६ मा टर्कीमा कुर्द लडाकु र जिहादी समूहहरुले दुबैले श्रृंखलाबद्ध रुपमा घातक आक्रमणहरु गरेका छन्।