तीस हजार मतपेटीका खरिद गर्दै निर्वाचन आयोग

0
513

काठमाडौं, ५ चैत । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि ३० हजार मतपेटीका खरिद गर्ने भएको छ । बैशाख ३१ गते तय भएको स्थानीय निर्वाचनका लागि अपुग ३० हजार मतपेटीका खरिद गर्न लागेको हो । निर्वाचनमा करिब ८४ हजार मतपेटिका आवश्यक पर्ने देखिएको आयोगले जनाएको छ ।

अहिले आयोगसँग करिब ७० हजार मतपेटिका रहेका छन् । भएका मतपेटिका सबै प्रयोग हुन सक्ने अवस्थामा नरहेकाले आयोगले अपुग देखिएको र ३० हजार मतपेटिका खरिद गर्ने तयारी भएको आयोगले जनाएको छ ।त्यसका लागि टेन्डर प्रक्रिया भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

‘८० देखि ८४ हजार मतपेटिका आवश्यक पर्ने हाम्रो अनुमान छ,’ शर्माले भने, ‘हामीसँग अहिले करिब ७० हजार मतपेटिका भए पनि केही टुटेफुटेका हुनसक्छन् ।’ उनले अपुग मतपेटीका खरिदका लागि टेन्डर प्रक्रिया भइसकेको बताए ।

यस्तै आयोगले मदतदान स्थलको टुंगो लगाउने काम समेत गरिरहेको उनको भनाई छ । आयोगले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षा प्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न जिम्मा दिएको छ । निर्वाचनमा २१ हजार मतदान केन्द्र हुने आयोगको अनुमान छ ।

उनले मतदाताको संख्या हेरेर एक मतदान केन्द्रमा ४ वटासम्म ब्यालेट बक्स उपलब्ध गराइने जानकारी दिए । ‘मतदताको संख्या र मतपत्रको साइज हेरेर एक मतदान केन्द्रमा ४ वटासम्म मतपेटिका उपलब्ध गराउने तयारी भइरहेको छ,’ उनले भने ।

आयोगले मतपत्रको साइज टुंगो लगाउने अन्तिम तयारी गरिरहेको छ । शर्माका अनुसार मतपत्रको साइज टुंगो लगाएर जनक शिक्षालाई मतपत्र छपाइको जिम्मा दिने आयोगको तयारी छ ।

आयोगले १ करोड ६० लाख मतपत्र छाप्ने तयारी गरेको छ । यस्तै, आयोगले अहिले मतदाता नामावली नयाँ संरचना (ठेगाना) अनुसार अपग्रेड गर्ने, आवश्यक सामग्री जुटाउने, मतदाता शिक्षाका तालिम सञ्चालन गर्नेलगायत काम एकैसाथ गरिरहेको शर्माको भनाइ छ ।