कोरिया जान चाहनु हुन्छ ! खुल्यो भाषा परीक्षाका लागि आवेदन फारमः अनलाइनबाटै भर्न सकिने

0
844

काठमाडौं, ९ चैत्र । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । आज विहान नौ बजेदेखि आवेदन खुल्ला गरिएको इपीएस कोरिया शाखाले जनाएको छ । यो वर्षदेखि इपीएस परीक्षाका लागि आवेदन दिन लाइनमा लाग्नुपर्ने बाध्यता भने हटेको छ ।

अनलाइनबाट नै आवेदन दिन सक्ने ब्यवस्था गरिए पछि अघिल्लो रातीदेखि नै लाइन लाग्नुपर्ने बाध्यता हटेको हो । खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइने इपीएस शाखाले जनाएको छ ।
शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो ।

शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो ।

अनलाइन परीक्षा आवेदन फारम भर्न सबैभन्दा पहिले २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर आवश्यक पर्नेछ । योसँगै पासपोर्ट नम्बर अनिर्वाय हुनेछ । बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्नेछ ।

परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आवेदनले भरेको इमेलमा नै आउनेछ । त्यसलाई आफैले प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने शाखाले जनाएको छ । परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ । कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ ।

सन् २००७ मा कोरियासँग श्रम सम्झौता भएपछि अहिलेसम्म नेपालबाट रोजगारीका लागि करिब ४३ हजार कोरिया पुगिसेका छन् । कोरिया जान खर्च पनि कम लाग्ने र तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो छ ।
गत वर्षमात्रै ६१ हजारभन्दा बढीले परीक्षा आवेदन फारम भरेका थिए । यस वर्ष बढीमा ८० हजारले फारम भर्ने शाखाको अनुमान छ ।