सिराह, २९ चैत्र । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकटी गाउँपालिका ४ (साबिक सखुवा नन्कारकट्टी गा.वि.स. ८) सिम्राहाको दलित बस्तीमा सोमबार बेलुका सुरु भएको आगलागीमा २५ घर परिवारका झन्डै ५० घर जलेर नष्ट भएका छन्। लहानबाट करिब १० किलोमिटर दक्षिण पूर्व पर्ने बस्तीमा साँझ करिब छ बजेदेखि सल्केको आगो निभाउने प्रयासमा प्रहरी,वरुण यन्त्र, सशस्त्र प्रहरी र स्थानीयवासी छन्। आगो निभाउने क्रम अहिले अन्तिम चरणमा पुगेको जानकारी इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले घटनास्थलबाट दिए ।
खाना पकाएर बारीमा फालेको आगोको झिल्को उडेर आगलागी सुरु भएको उनले जानकारी दिए। स्थानीय जोगिन्द्र मण्डलको परालको कुन्यूबाट सुरु भएको आगो साँझसम्म चलेको हावासँगै बस्तीका घरहरुमा फैलिएको थियो। आगलागीको प्रारम्भिक क्षतिको विवरण अनुसार एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरी नायव निरीक्षक चौधरीले बताए। आगलागी पीडितहरुले घरबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद केही पनि झिक्न नपाएकाले क्षतिको रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ। आगलागीमा परेका घर परिवारका विशेषतः बालबालिका र बृद्धबृद्धाहरुको बिचल्ली भएको छ। आगलागीका कारण बिचल्लीमा परेकाहरुलाई गाउँलेहरुले मिलेर चिउरा चिनी बाँडेको सखुवा नन्कारकट्टीका पूर्व अध्यक्ष रामकिसुन यादवले जानकारी दिए।