कीर्तिमान फिर्ता गर्न भन्दै सगरमाथा निस्केका मीनबहादुरको निधन

0
390

काठमाडौं, २४ बैशाख । सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्ने लक्ष्य लिएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ। शेरचनको शनिबार ५ बजेर १४ मिनेट जाँदा सगरमाथाको आधार शिविरमा निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए। शेरचनको मृत्युको कारण नखुलेको भट्टराईले बताए ।

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गराउन शेरचन वैशाख ३ गते काठमाडौंबाट सगरमाथा बेस क्याम्प गएका थिए । उनी सात सदस्यीय टोली लिएर सगरमाथा आरोहणमा निस्केका थिए। म्याग्दीको भुरुवा तातोपानीका शेरचन पूर्व गोर्खा सैनिक हुन्। काठमाडौंको समिट ट्रेड नेपाल ट्रेकिङ एजेन्सीबाट उनी सगरमाथा आरोहण गर्न गएका थिए ।

शेरचनले सन् २००८ मा ७७ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्नेमा विश्व कीर्तिमान राखेका थिए। तर सन् २०१३ मा जापानका युइचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर शेरचनको किर्तिमान भंग गरिदिए। त्यसपछि शेरचन आफ्नो किर्तिमान फर्काउन निरन्तर आरोहणको तयारीमा थिए। ’मेरो किर्तिमान भंग गर्ने युइचिरो मिउराप्रति मेरो ठुलो सम्मान छ।

तर म अझै फिट छु र सगरमाथा चुमेर आफ्नो रेकर्ड फिर्ता गर्न चाहन्छु,’ सगरमाथा आरोहणमा निस्कनुअघि उनले भनेका थिए,’म मेरो उपाधि नेपाल र गोर्खा ब्रिगेडका लागि फिर्ता गर्न चाहन्छु।’ शेरचनले सन् २०१५ र २०१६ मा पनि सगरमाथा आरोहणका लागि तयारी गरेका थिए। तर भूकम्पका कारण सन् २०१५ मा उनी बेस क्याम्प नजिक पुगेर फर्किए।