काठमाडौं । भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ।
कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।
घटनाको जानकारी पाएलगत्तै विश्वविद्यालय प्रशासनले मृतक छात्राका अभिभावकलाई तुरुन्तै जानकारी गराएको ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
ओडिशा सरकारले यस दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारजनप्रति ऐक्यभाव व्यक्त गरेको छ। साथै, घटनाको गम्भीरताका साथ छानबिन सुरु भएको विज्ञप्तिमा उल्लेख छ।
घटनास्थलमा फरेन्सिक टोलीले पनि प्रमाण सङ्कलनको कार्य गरिरहेको छ। राज्य सरकारले घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त घटनामा नेपाली छात्रा प्रिसा साह बिहीबार मृत फेला परेकी थिइन् ।