काठमाडौं । जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर लुटिएका हतियारहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ । हतियारको विवरण सङ्कलन गर्ने समितिको नेतृत्व अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीले गरेका छन् ।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका युनिटबाट लुटपाट र आगजनीका कारण करिब ११ सय थान हतियार हराएको आईजीपीले गृहमन्त्रीलाई रिपोर्टिङ गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा ११ सय थान हतियार हराएको उल्लेख गरेका छन् ।
लुटिएका हतियारमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका रहेका छन् । लुटिएका हतियारमा काठमाडौंबाट धेरै रहेका छन् ।
हराएका हतियारको विवरण तयार गर्ने काम भइरहेको छ । लुटिएका मध्ये १६० थान हतियार भेटिएको छ । आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । सशस्त्र प्रहरी बल र प्रहरीबाट लुटिएको हतियार सेनाले पनि बरामद गरेर बुझाएको छ । अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ । मनभवनमा स्थित यातायात व्यवस्था विभाग परिसरमा रहेको सशस्त्रको बेसबाट करिब २० थान एसएलआर र सटगन लुटिएको जनाइएको छ ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको बेसबाट पनि केही हतियार लुटिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधनमा आगजनी गरिएको थियो ।
