२६ असोज, काठमाडौं । गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । अन्त्येष्टि गर्नु अघि गौचनको पार्थिव शरिरलाई अनामनगरमा राखिएको थियो ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो ।
स्व गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो ।अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो । गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।
निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालका लागि निर्माणका सबै काम रोक्ने निर्णय कायमै राखेका छन् । श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहिद घोषणा गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने भन्दै काममा फर्किन आग्रह गरे ।