नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ नेतृत्व, सांगठनिक पुनर्संरचना र पुस्तान्तरणबारे तीव्र बहस सुरु भएको छ ।

यसैबीच, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष एवं कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य नैनसिंह महरले महामन्त्री पदमा आफ्नो सशक्त उम्मेदवारी रहने घोषणा गर्दै अभियान तीव्र पारेका छन् ।
प्रतिनिधिसभा एवं प्रदेशसभा क्षेत्रीय अधिवेशन गृह जिल्ला डडेल्धुरा कांग्रेसले महरलाई सर्वसम्मत रूपमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेपछि उनको उम्मेदवारीले औपचारिक र मजबुत राजनीतिक आधार पाएको छ ।
सुदूरपश्चिमको विकटताबाट सुरु भएको राजनीतिक यात्रा २०३१ साल साउन १४ गते डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकान्डेमा जन्मिएका महरले २०४६ सालको प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

सुदूरपश्चिमको ग्रामीण र विकट परिवेशबाट उठेर विद्यार्थी हकहित र प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा उनी अग्रपंक्तिमा रहे ।
स्ववियु राजनीति हुँदै नेविसंघको सांगठनिक तह चढेका महर २०७३ सालको ११ औँ महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । २०७३ सालदेखि २०७५ सम्म उनको नेतृत्वमा नेविसंघले क्याम्पसहरूमा डिजिटल शिक्षा, निःशुल्क वाई–फाई, निजी शिक्षण संस्थाको मनपरी शुल्क वृद्धि नियन्त्रण र त्रिविको शैक्षिक क्यालेन्डर नियमित बनाउने जस्ता महत्त्वपूर्ण सुधारका मुद्दाहरूमा देशव्यापी दबाब सिर्जना गरेको थियो ।
नेविसंघको सफल नेतृत्वपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट उनी खुलातर्फ भारी मतका साथ केन्द्रीय सदस्य बने । पार्टीमा उनले केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
राजनीतिक सक्रियताका बीच पनि महरले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै पार्टीभित्र प्राज्ञिक र वैचारिक नेताको छवि बनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक, तथा राजनीतिशास्त्रमै एम.फिल उत्तीर्ण गरेका महर हाल राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि अध्ययनरत छन् ।
उनी नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति हुन् । लोकतान्त्रिक मूल्य, सुशासन र युवा सशक्तीकरणका लागि काम गर्ने संस्था ’स्कूल अफ डेमोक्रेसी’ को नेतृत्व समेत उनले गर्दै आएका छन् ।
वैचारिक विश्लेषकका रूपमा उनका ’शिक्षाका चुनौतीहरू’, ’नेपाली कांग्रेस र भ्रातृ संगठन’, ’अबको कांग्रेस’, ’संकल्प’ र ’काण्डैकाण्ड–महाकाण्ड’ जस्ता पुस्तकहरू प्रकाशित छन् ।
यसका साथै राष्ट्रिय भावनाले ओतप्रोत चेतनामूलक गीतहरू पनि उनले रचना गरेका छन् ।
’नयाँ सोच, डिजिटल कांग्रेस’ १५ औँ महाधिवेशनलाई केवल नेतृत्व छान्ने मेला मात्र नभई कांग्रेस बदल्ने र सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने महरको तर्क छ ।
उम्मेदवारी घोषणासँगै उनले पार्टीको परम्परागत संरचनालाई विस्थापित गरी प्रविधिमा आधारित पारदर्शी र आधुनिक ’डिजिटल कांग्रेस’ बनाउने ।युवाहरूलाई राजनीतिप्रति आकर्षित गर्दै नीति निर्माण र पार्टीका प्रमुख संरचनाहरूमा उनीहरूको सुनिश्चित सहभागिता गराउने । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई २१ औँ शताब्दीको आर्थिक समृद्धि, रोजगारी र प्रविधिसँग जोडेर परिमार्जन गर्ने । गुटबन्दी अन्त्य गर्दै सुशासन, पारदर्शी राजनीति र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने ।लगायतका मुख्य संकल्प अगाडी सारेका छन् ।
डडेल्धुरा कांग्रेसको सर्वसम्मत समर्थन पाएपछि उत्साहित बनेका महर हाल देशव्यापी जिल्ला दौडाहा र प्रदेशस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले भविष्यको जिम्मेवारी लिने भरोसायोग्य कांग्रेसको निम्ति महामन्त्री पदमा प्रतिष्पर्धा गरेको स्पष्ट पार्दै साथ सहयोग र समर्थनको लागि कांग्रेसजनमा अपिल गरेका छन् ।
विचार, संगठन र पुस्तान्तरणको मुद्दालाई अघि सारेका महरको महामन्त्री पदको दाबेदारीलाई १५औँ महाधिवेशनमा चासोका साथ हेरिएको छ ।











