बजेटको समस्या र मधेश आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपको १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो । राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । यसअघि पहिलो पटक सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मंसिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोश्रोपटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो । त्यस्तै बैठकले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२ औं सागको समापनका अवसरमा नेपाललाई १३ औं साग आयोजनाका लागि झण्डा हस्तान्तरण गरिएको थियो ।