९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बादीको बाटोतिरकसैले धकेल्न नसक्ने र नेपाली जनताको समर्थनले यसलाई बलियो बनाउने बताउनु भयो। नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको जिकिर गर्दै यसको व्याख्या आफूले नभई अदालतले गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल टेलिभिजनमा शनिबार राति ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ को १४ औं श्रृंखलामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतर्फ जानबाट रोक्ने उदघोष गर्नुभएको छ। अविश्वासको प्रस्ताव संसदमा आइसकेको अवस्थामा अबको बाटो के होला भन्ने नेपाल टेलीभिजनका प्रस्तोता रवि लामिछानेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिनुभयो ‘अनुमान नगरिएको परिस्थितितर्फ देशलाई जबर्जस्त लाने प्रयास भइरहेको छ । तर, म भन्न चाहन्छु त्यतातर्फ परिस्थितिलाई जान नदिने र सहज, स्वाभाविक, सकारात्मक दिशा लेओस् भन्ने मेरो एउटा प्रयास हुन्छ । मेरो पार्टीको प्रयास हुन्छ । र, मसँग जो अरु पार्टीहरु छन्, त्यसको प्रयास हुन्छ ।’ प्रधानमन्त्री ओलीले अगाडि भने ‘देश कता जान्छ? देशलाई बर्बादीतर्फ लाने प्रयासहरु भएका छन्, जसलाई रोकिने छ । जनताको सचेत प्रयासबाट रोकिनेछ । र, देश सकारात्मक बाटोमै अगाडि बढ्छ । ०१७ सालमा कता लान खोजिएको थियो ? फेरि फर्काइयो । ०५९ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो । ०६१ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो । फेरि लान खोजिएला, एउटा भ्याकुम, रिक्तताको स्थिति संवैधानिक र राजनीतिक संकट, दोहोरो संकट खडा गरेर देशलाई भ्याकुममा लान खोजिएको थियो, राज्यका अंगहरु फतफत झर्दै थिए । त्यस ठाउँबाट फेरि फर्काएर ल्याइयो । र, फेरि पनि गलत बाटोमा जान दिइँदैन । सही बाटोमा फर्काइन्छ ।’ अहिले बढीरहेको ध्रुवीकरणको एउटा धारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले थप्नुभयो , ‘जुन ध्रुवीकरण अहिले हुँदैछ, जबर्जस्त ध्रुवीकरण । यस्तो ध्रुवीरकणको यस्तो दुईवटा म्याग्नेट दुईतिर रह्यो । र, यसमा कतै भुलचूक हुनेवाला छैन । मिसमास छ्यासमिस केही हुनेवाला छैन । नेपाली जनताले स्पष्ट देख्नुपर्दछ यो ध्रुवीकरण । एउटा म्याग्नेट राष्ट्र, राष्ट्रियता, नेपाली जनताको विकास र उन्नति, स्वाभिमान, यो म्याग्नेट छ एउटा । त्यसविपरीत अर्को म्याग्नेट छ, के म्याग्नेट, त्यो म भन्दिँन । त्यहाँ संसदमा अभिव्यक्तिहरुमा देख्नुभएको छ तपाईले । मैले यसमा धेरै कुरो भन्नुपर्दैन, आजको नेपाली जनता स्वाट्टै अल्मिलिएर देश विरुद्धका हुने त्यस्ता गतिविधि, त्यस्ता षडयन्त्रहरु तिनीहरुलाई बुझ्न सक्ने सामर्थ्य राख्छ भन्ने म विश्वास गर्छु ।’