सिरिया हमलामा रुसको हात : अमेरीका

0
446

सिरियामा सहायता सामाग्री ओसार्ने सवारी साधनहरुमाथि भएको घातक हमलाका निम्ति रुसी लडाकू विमान जिम्मेवार रहेको अमेरिकी अधिकारीहरुले बीबीसीलाई बताएका छन्।
ती सवारी साधनमाथि हमला भएकै समयमा त्यहाँको आकाशमाथि दुईवटा रुसी सुखोइ विमान उडिरहेको भन्दै अमेरिकी अधिकारीहरुले उक्त हमला निकै आधुनिक प्रकृतिको भएको र सिरियाली सेनाले गर्न नसक्ने बताए।
रुसले भने उक्त हमला आफ्नो वा सिरियाली लडाकू विमानले नगरेको प्रतिकृया दिएको छ।
उसले हमलाका निम्ति विद्रोही जिम्मेवार भनेको छ।
एक साता लामो युद्धविराम सकिएको सिरियाली सरकारले जनाएको केही घण्टामा उक्त हमला भएको थियो।
राष्ट्रसंघका मानवीय कार्य प्रमुख स्टेफेन ओब्राइनले सिरियाली शहर एलेप्पो नजिकै भएको उक्त हमला युद्ध अपराध हुन सक्ने बताए।
“कसैलाई उन्मुक्ति नमिलोस् भन्ने विषय सबभन्दा महत्वपूर्ण हो। जवाफदेहिता हुनैपर्छ किनभने युद्धका पनि केही नियम हुन्छन्। अन्तर्राष्ट्रिय मानवीय कानुन यिनमा लागु हुन्छन्,” राष्ट्रसंघका मानवीय कार्यका प्रमुखको भनाइ छ ।

१८ लरी क्षतिग्रस्त भएको तथा २० गैरसैनिक मारिएको उक्त हमलाका कारण संयुक्त राष्ट्रसंघले सिरियामा उसका सबै सहायता ढुवानी कार्य रोकेको छ।
ह्वाइट हाउसले सो घटनालाई ठूलो मानवता विरोघी कार्य भनेको छ।
यसअघि राष्ट्रसंघले ती घटनाका लागि हवाई हमला नै जिम्मेवार हो कि होइन भनेर खुट्याउन आफुले नसक्ने जनाएको छ।

एक सातालामो युद्धविराम सकिएको सिरियाली सरकारले जनाएको छ
यसबीच न्यूयोर्कमा कुटनीतिज्ञहरु अमेरिका तथा रुसद्वारा सिरियामा गराइएको एक साता लामो युद्धविरामको अवस्था जोगाउन प्रयत्नशील छन्।
सिरियाली सेनाले युद्धविराम सकिएको भनिसकेको छ, तर अमेरिकी विदेश मन्त्री जन केरीले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभलाई संगै राखेर उक्त युद्धविराम सम्झौता अझै जिउँदै रहेको बताए।
यसबारे उनीहरुले थप छलफल गर्ने बताइएको छ।