२०८३ जेष्ठ १९ गते मंगलवार
२०८३ जेष्ठ १९ गते मंगलवार

मलेसियामा पक्षघात भएका मण्डलको केएमसीमा सफल उपचार

रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल विदेशी भूमिमा अचानक मस्तिष्कघातको सिकार बने । अवस्था यति गम्भीर भयो कि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे । मलेसियामै गरिएको एमआरआई परीक्षणले समस्या गम्भीर रहेको देखाएपछि परिवारले उनलाई नेपाल फर्काउने निर्णय गर्यो ।

नेपाल आएपछि मण्डल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुगे । तर आर्थिक अभावका कारण त्यहाँ उपचारलाई निरन्तरता दिन सम्भव भएन । त्यसपछि उनी काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगे । त्यहीँ उनको भेट न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलसँग भयो । डा. पौडेलकै सिफारिसमा उनी भक्तपुरको दुवाकोटस्थित केएमसी युनिट–२ मा भर्ना भए ।
अस्पताल पुगेपछि डा. पौडेलको टोलीले उनको विस्तृत परीक्षण गर्दै उपचार प्रक्रिया अघि बढायो । डा. पौडेलका अनुसार उपचारका लागि आउँदा मण्डललाई पटक–पटक पक्षघात भइरहेको थियो । मलेसियामा गरिएको एमआरआईले उनको देब्रे मस्तिष्कतर्फको प्रमुख रक्तनली ७० प्रतिशत साँघुरिएको देखाएको थियो, जसका कारण स्ट्रोक भएको थियो । तर केएमसीमा आएपछि गरिएको एन्जियोग्राफीले अवस्था झन् जटिल भइसकेको तथ्य उजागर ग¥यो । परीक्षणमा ती नसा ९९ प्रतिशतसम्म साँघुरिसकेको पाइयो ।

एक महिनाको अवधिमै ७० प्रतिशतबाट ९९ प्रतिशतसम्म पुगेको अवरोधले जोखिम धेरै नै बढेको स्पष्ट थियो । डा. पौडेल भन्छन्, ‘थप केही समय ढिलो भएको भए नसा पूर्ण रूपमा बन्द हुन सक्थ्यो । त्यसपछि बिरामीले बोल्ने क्षमता गुमाउने र खुट्टा नचल्ने अवस्था आउन सक्थ्यो ।’ अस्पताल आइपुग्नेबित्तिकै डा. पौडेलको टोलीले एन्जियोग्राफी ग¥यो । त्यसपछि खुट्टाबाट साना पाइप र तार प्रवेश गराएर साँघुरिएको रक्तनलीमा बेलुन एन्जियोप्लास्टी गरियो । अवरुद्ध भागमा स्टेन्ट राखिएपछि रक्तप्रवाह पुनः सहज रूपमा सञ्चालन हुन थाल्यो । उपचार सफल भएपछि मण्डललाई अर्को दिन नै घर पठाइयो ।

डा. पौडेलका अनुसार खराब बोसोका कारण रक्तनली साँघुरिँदै गएको थियो । त्यही कारणले उनी बारम्बार पक्षघातको सिकार बनेका थिए । स्टेन्ट राखिएपछि रक्तनली खुल्यो र मस्तिष्कमा आवश्यक रक्तप्रवाह पुनः सुचारु भयो । हालै सञ्चालनमा आएको केएमसी दुवाकोटले यस्तो जटिल मस्तिष्कघात सम्बन्धी रोगको पहिलो सफल उपचार गर्दै अर्को उपलब्धि हासिल गरेको छ ।
बुबाको सफल उपचारपछि छोरा सत्यनारायणको अनुहारमा अहिले राहत र खुसी दुवै फर्किकको छ । ‘सुरुमा त के हुने हो, कस्तो हुने हो भन्ने ठूलो चिन्ता थियो । तर अहिले सोचेजसभन्दा धेरै राम्रो भएको छ । अस्पतालको सेवा र डाक्टरहरूले गरेको उपचारबाट हामी अत्यन्त सन्तुष्ट छौं,’ उनी भन्छन् । बुबा अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मुक्त कण्ठले आभार व्यक्त गरे ।

अहिले राजारामको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आफ्नो अनुभव सुनाउँदै सत्यनारायण अरूलाई पनि सल्लाह दिन्छन्, ‘यहाँको उपचार सेवा निकै राम्रो रहेछ । कुनै स्वास्थ्य समस्या देखिए समयमै विशेषज्ञकहाँ पुगेर उपचार गराउनुपर्छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।