२०८३ असार २ गते मंगलवार
२०८३ असार २ गते मंगलवार

सरकारलाई देउवा दम्पतीको पत्र- छिट्टै नेपाल फर्कन्छौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देउवा दम्पतीले जेठ २८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै आफूहरू हाल स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको उल्लेख गरेका छन्। चार पृष्ठ लामो पत्रमा उनीहरूले दुई महिनाभित्र स्वदेश फर्केर विभागसमक्ष उपस्थित हुन तयार रहेको जानकारी गराएका हुन्।

पत्रमा अनुसन्धान प्रक्रियाबाट भाग्ने वा कानुनी जिम्मेवारीबाट उम्किने कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै उनीहरूले निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित अनुसन्धानमार्फत आफ्नो निर्दोषिता पुष्टि गर्न चाहेको बताएका छन्। सार्वजनिक जिम्मेवारी सम्हालेका व्यक्तिका रूपमा कानुनी प्रक्रियामा सहयोग गर्न आफूहरू सदैव तत्पर रहेको उनीहरूको भनाइ छ।

साथै, आफूहरू विदेशमा रहेकै कारण ‘फरार भएको’, ‘अनुसन्धानमा अनुपस्थित रहेको’ जस्ता धारणा निर्माण गरी पक्राउ पुर्जी जारी गर्ने वा स्वदेश फर्किन कठिनाइ सिर्जना हुने अवस्था नबनाउन विभागसँग अनुरोध गरिएको छ।

देउवा दम्पतीले पत्रमा सर्वोच्च अदालतबाट जेठ ११ गते प्राप्त अन्तरिम आदेशको समेत स्मरण गराएका छन्। कानुन व्यवसायीमार्फत आफूहरूलाई अनुसन्धानका क्रममा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने तर्क प्रस्तुत गरिएको जानकारी प्राप्त भएकाले आफ्नो धारणा स्पष्ट पार्न निवेदन दिएको उनीहरूले उल्लेख गरेका छन्।

पत्रअनुसार गत असोजमा आफूविरुद्ध उजुरी परेपछि विभागले अनुसन्धान टोली गठन गरी जलेको निवासको निरीक्षण गरेको थियो। तर २०८२ फागुन १३ गते विदेश प्रस्थान गर्दासम्म विभागबाट औपचारिक रूपमा उपस्थित हुन कुनै पत्र प्राप्त नभएको देउवाको दाबी छ।

उनले अनुसन्धानका क्रममा आफ्नो निवासमा गरिएको खानतलासीबाट कुनै बहुमूल्य वस्तु, नगद वा अन्य शंकास्पद सामग्री फेला नपरेको मुचुल्काले प्रमाणित गरेको पनि उल्लेख गरेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।