मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु गाउँ पुगेका थिए । बाँकी १२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये यसअघि दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको थियो ।
उद्धार गरिएका दुई शवलाई सोमबार बिहान कैलाश हेलिकाेप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।

उनीहरू संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का करिब ३१ वर्षीय पासाङ भोटे रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, सोमबार बिहान करिब ११ बजे कैलाश हेलिकाेप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको छ । ती दुवै शवको नामथर र ठेगाना खुल्न सकेको छैन ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दूरीमा पर्छ । बाँकी सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










