२०८३ आश्विन १३ गते मंगलवार
२०८३ आश्विन १३ गते मंगलवार

चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

 नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । 

सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलमा प्रहरीले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो ।

बैठकमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला यात्रु ठगिने तथा सवारी दुर्घटना हुने जोखिम न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिने बताए ।

उनले भने, ‘आगामी दशैं, तिहार र छठलाई लक्षित गरेर प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्दैछौँ । यात्रुबाट बढी भाडा लिने, टिकट नदिने, एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने लगायतका गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था हुन्छ । यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको टोली परिचालन हुन्छ । साथै, बढी सवारी चाप हुने कलंकी–नागढुंगा क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरेर यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउनेछौँ ।’

उनका अनुसार विगतमा पनि विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । यसपटक पनि लामो, मध्यम र छोटो दूरीका यात्रुलाई लक्षित गरी सहायता कक्ष सञ्चालन गरिनेछ ।

सहायता कक्षबाट यात्रुले तोकिएभन्दा बढी भाडा लिएको, टिकट नदिएको वा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गरेको लगायतका गुनासो तत्काल सम्बोधन गरिने शाहले बताए ।

‘बढी भाडा लिएको भए सम्बन्धित यात्रुलाई बोलाएर समस्या तत्काल समाधान गर्ने हिसाबले नागरिक यात्रु सहायता कक्ष स्थापना हुन्छ,’ उनले भने । 

सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी रहेको शाहले जानकारी दिए । 

उनले यात्रु सहायता कक्षमा विभिन्न गन्तव्यको भाडादर स्पष्ट रूपमा उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई आग्रह गरे ।

उनका अनुसार टिकट बुकिङ खुला भएपछि टिकट काट्ने व्यक्तिको परिचयपत्र, सम्बन्धित यातायात समिति र टिकट काट्ने कर्मचारी आबद्ध संस्थाको विवरण स्पष्ट भए ट्राफिक प्रहरीलाई अनुगमन तथा कारबाहीमा सहज हुनेछ ।

शाहले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरणका लागि रुटअनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए । विगतमा दशैंको समयमा अपनाइएको ‘क्यु–फ्री’ प्रणालीलाई पनि रुटअनुसार व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।

झापा जाने बसलाई झापाकै रुटमा र पोखरा जाने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई सम्बन्धित सडक र त्यसको अवस्थाबारे जानकारी हुने भएकाले दुर्घटनाको जोखिम कम गर्न सकिने शाहले बताए ।

उनले अपरिचित रुटमा सवारी चलाउँदा चालकलाई सडकको अवस्था, घुम्ती, खाल्डाखुल्डी लगायतका विषयमा पर्याप्त जानकारी नहुन सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने बताए ।

शाहले चाडपर्वका बेला सबैभन्दा बढी सवारी चाप हुने कलंकी–नागढुंगा सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने जानकारी पनि दिए ।

उनका अनुसार दशैं सुरु हुनुभन्दा करिब चार दिनअघिदेखि उक्त सडकखण्डमा सवारी चाप बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न प्रहरी जनशक्ति परिचालन गरिनेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।