प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले कात्तिक १८ गते नै नियुक्तिपत्र बुझेको जानकारी दिएका छन् । तर, त्यसपछि तिहार र छठ पर्वको लामो सार्वजनिक बिदा परेका कारण उनी कार्यालयमा हाजिर हुन नसकेको मन्त्रालयले जनाएको छ ।
मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव तथा परामर्श दिन सरकारले कार्कीका लागि विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको थियो । कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत स्थापना गरिएको छ ।
यता, कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारको उक्त निर्णयविरुद्ध कानुनी उपचार खोजिरहेका कार्की नयाँ जिम्मेवारीमा भने अहिलेसम्म कार्यालय पुगेर हाजिर भएका छैनन् ।











