२२ कात्तिक , चितवन, । चितवन जिल्लाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतगणना प्रक्रियामा उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय विकास नियोग युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गर्नुभएको हो ।
गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका–१९ को मतदान पुनः भएको थियो । सो पश्चात् तारको जाली लगाएर जालीभित्र प्रतिनिधिलाई राखेर मतगणना गरिएको थियो । मुख्य निर्वाचन अधिकृत शर्माले जिल्लामा एउटा फरक संस्कृतिको विकास गर्न आग्रह गर्दै मतगणनाका क्रममा सबै उम्मेदवारले महिला प्रतिनिधि पठाएमा गणना प्रक्रिया अरू बढी राम्रो हुने बताए ।